अर्थतन्त्र

निर्वाचन आयोगले २५ करोड खर्चेर निर्वाचन सामग्री किन्दै

काठमाडौं । निर्वाचन आयोगले २५ करोड रुपैयाँ बराबरका निर्वाचन सामग्री खरीद प्रक्रिया अगाडी बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधिक निर्वाचन घोषणा गरेका छन् । यद्दपी यसबारे सर्वोच्च अदालतको फैसला आउन भने बाँकि नै छ । आयोगले चुनावी सामग्री खरीद गर्न बोलपत्र आह्वान गरेको हो ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्न मंगलबार बोलपत्र आह्वान गरेको छ । वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको बताएको छ । बोलपत्रदाताहरुले १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने शर्त तोकिएको छ ।

१८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने भएको छ । आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्री माग गरिएको छ ।