रोचक खवर

सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल

काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन ।

अदालतबाट ठूलो भरोसा गरेका प्रधानमन्त्रीको अपेक्षा विपरित फैसला भयो । यसले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भने हौसला दियो । उनीहरु आफ्नो पार्टीले बुधबार चितवनमा आयोजना गरेको विरोध सभामा भाग लिन चितवन पुगेका थिए । दुबै नेता एउटै होटेलमा थिए । जब सर्वोच्चको फैसला आयो, त्यसपछि नेकपा नेताहरुले खुसीयाली मनाए ।

उनीहरुले मिठाई आदान प्रदान गरेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल गराइएको छ । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएका थिए । उक्त अवसरमा सहभागीलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको भनाई छ । प्रचण्ड र माधव नेपालसहित नेताहरुले चितवनमा बुधबार हुने सभालाई विजय जुलुसका रुपमा मनाउने भएका छन् ।