समाचार

पशुपति मन्दिरको मुख्य शिवलिङमा राखियो सुनको जलहरी

काठमाडौ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङमा सुनको जलहरी राखिएको छ ।

राष्ट्र प्रमुखको हैसियतमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी स्थापना कार्य पुरा भएको हो । यसअघि त्यहाँ चादीँको जलहरी राखिएको थियो ।

तर चाँदीको जलहरी खिइसकेकोले फोहोर देखिनुका साथै पञ्चामृत लगायतका कतिपय पूजा सामग्री फोहोर हुने गरेको जलहरी परिवर्तन गर्नु परेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

जलहरी राख्न अघि क्षमापूजा आवस्यक भएको र त्यसका लागि भारतबाट ३३ जना व्राह्मण बोलाइएको थियो । जलहरीका लागि १ सय ८ ग्राम सुन प्रयोग गरिएको छ ।

तर संस्कृतिविद्हरुले भने जलहरी प्रतिस्थापनको विरोध गर्दै आएका छन । जलहरी प्रतिस्थापनको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट निवेदन समेत दायर गरिएको छ । जलहरी प्रतिस्थापन गर्ने विषयलाई पछिल्लो सात वर्ष देखि विवाद चल्दै आएको छ ।

यसअघि पशुपतिनाथमा रहेको चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा प्रतिस्थापित गरेका थिए । त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी राखेको विभिन्न अभिलेखहरुमा उल्ल्ेख छ ।