मनोरञ्जन

पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन हुँदै

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापती तथा सन्त नेता, पूर्वप्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आगामी चैत्र २२ गते (शनिवार) महिला तथा पुरुष हाफ म्याराथुन आयोजना गर्न लागेको हो । लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्ता जानकारी गराएका छन् ।

नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यसबेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लैजाने लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।

म्याराथुनका महिला र पुरुषत तर्फका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै अध्यक्ष गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गरि खेलकुद तथा खेलाडीको विकासमा मेरुदण्डको भुमिका निर्भाह गर्ने बताए ।

म्याराथुन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहि स्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।

नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथुन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । अध्यक्ष गुरुङले प्रतियोगितामा ८०-८५ खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।