डायस्पोरा

शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

न्युयोर्क

न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।
जम्मा कबोल गरिएको पचास हजार डलर मध्ये २५ हजार ५ पाँच सय ५५ डलर गत नोभेम्बर सात शनिवारका दिन आयोजित देव अवतरण दिवसको अवसरमा हस्तान्तरण गरिएको किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताएका छन् ।
शेर्पा किदुग अमेरिकाद्वारा प्रत्येक वर्ष मनाइने ‘ल्हाप्सो’ अर्थात सामुहिक देव पूजा कार्यक्रमको लागि अघिल्लो वर्षको डिसेम्बर महिनामा न्युयोर्क राज्यको वालकिलमा ६१.३ एकड जग्गा खरीद गरेको थियो। उक्त जग्गा माथि शेर्पा किदुगले विश्व शान्ति र पर्यावरणीय स्थिरताको लागि एक बौद्ध चैत्य स्थापना गर्न लागिएको जनाएको छ। शेर्पा किदुगका महासचिब कर्म लामा, उनका भाइ तेन्डी लामा र बहिनीहरु किन्जी शेर्पा र बिमला शेर्पाले आफ्ना दिवंगत पिता आङ् पासाङ् लामा र माता क्षोकी लामाको स्मरणमा उक्त दान गरेका हुन।
दानी परिवारको तर्फबाट जेठो छोरो कर्म लामाले शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पालाई पच्चीस हजार पाँच सय पच्पन्न डलरको चेक हस्तान्तरण गर्नु भएको थियो। सोही अवसरमा बोल्दै किदुगका महासचिव समेत रहेका कर्म लामाले विश्व शान्ति र पर्यावरणका लागि दूरगामी प्रभाव पार्ने उक्त चैत्य निर्माणमा योगदान पुर्याउने अवसर पाउनुलाई आफ्नो परिवारको सौभाग्य सम्झेको बताए।
भगवान बुद्धले दिनु भएको शान्ति र करुणाक शिक्षा आज युग अपरिहार्य देखिएको महसुस भएको हुनाले यस अभियानलाई साथ दिनको लागि समेत वहाँले सबैलाई आग्रह गर्नु भयो ।
दानी परिवार प्रति धन्यवाद ज्ञापन गर्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले वहाँहरुको योगदान ईतिहासमा अमिट छाप भएर रहने बताउनु भयो । विश्व शान्ति र पर्यावरणीय स्थिरताका लागि स्थापित हुने यस स्तूपको प्रारम्भिक नक्सा तयार भई सकेको र पूर्ण परिमार्जित नक्सा चाँडै सार्वजनिक गरिने भएकोले उक्त परियोजनामा सबैको साथ र सहयोगको लागि पनि अध्यक्ष शेर्पाले अपील गरेका छन् ।