रोचक खवर

माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ ।

नेपाल बाहेकका दक्षिण एशियाका अन्य मुलुकमा केही सिमित क्षेत्रको मात्र डिजिटल नक्सा बनेको छ । नेपालको भने देशभरको बनेको बताइएको छ । यो प्रविधिको प्रयोगबाट माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्ने मन्त्रालयले जनाएको छ ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने प्रधानमन्त्री ओलीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिने समेत उनले उल्लेख गरे ।

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको उल्लेख गरिन् । उनका अनुसार माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व आवश्यक छ भन्ने पत्ता लगाउन सक्ने छन् । त्यसको पूर्ति, कुन बाली लगाउँदा राम्रो उत्पादन हुन्छ भन्ने जानकारी समेत पाउने छन् ।