समाचार

प्रतिनिधिसभाका संसादहरुले ३ महिनाकाे एकमुष्ट तलब पाउने

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै प्रतिनिधिसभाका संसादहरुले पुस यताको एकमुष्ट तलब पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभाका सांसदहरुको जागिर पनि पुनःस्थापना भएको छ ।

योसँगै २७५ जना सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।

सांसदहरूको मासिक करिव ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन् । यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठक बोलाउन तयार भएका छन् । अब प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनभित्र बैठक आव्हवान गर्ने छिन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि सांसदहरुको तलब रोक्का भएको थियो ।