समाचार

भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

काठमाडौं । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेस केन्द्रमा छ । किनकी भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा नयाँ सरकारको बनाउने कसरतको केन्द्रमा कांग्रेस आइपुगेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियता समेत बढेको छ । उनलाई नेकपाका नेताहरुले भेटिसकेका छन् ।

बिहिबार नेपालका लागि चिनियाँ र भारतीय राजदूतले समेत उनलाई भेटेका छन्। नेपाली संचारमाध्यमहरुका अनुसार बिहीबार छुट्टाछुट्टै समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग भेटेका छन् । दुबै राजदूत देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीचमा कुराकानी के भयो भन्ने बारेमा भने कुनै पनि पक्षबाट सार्वजनिक गरिएको छैन ।


देउवा निवासमा बिहीबार नै कांग्रेसको पदाधिकारी बैठक राखिएको थियो । सो बैठक सकिएपछि राजदूतहरूले भेटेका हुन् । नेकपाका प्रचण्ड र माधव कुमार नेपाल तथा ओली समुहले देउवासँग छुट्टाछुट्टै सहकार्यको प्रस्ताव गरिसकेका छन् । यसमा भारत र चीनले देउवालाई दिएको सन्देश नै निर्णायक हुने देखिएको छ ।