स्वास्थ्य

म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका ४ फापरखेतमा बिहीवार राति भएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । मालिका गाउँपालिका ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार दुर्घटनामा मालिका ३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको छ । उनी रुखबाट लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते चालक मालिका १ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचार गर्न पोखरा सिफारिस गरिएको छ । मालिका३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार जारी छ ।
यता, काठमाडौंको दक्षिणकाली नगरपालिका, ६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको हो । टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् ।