समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातका कारण उनको स्वास्थ्य अवस्था समेत गम्भीर रहेको चिकित्सकले जानकारी गराएका छन् । बिहीबार राती मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । त्यहाबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

चिकित्सकहरुका अनुसार अस्पताल पुगेर सिटी स्क्यान गर्दा उनको टाउकोमा रगत जमेको पाइएको हो । त्यसपछि वीरले नर्भिक रिफर गरेको थियो । उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाका अनुसार जोशीलाई कोमामा राखिएको थियो । सास फेर्न गाह्रो हुने र बान्ता फोक्सोमा पुगिसकेको अवस्था रहेको उनले जानकारी दिए ।

चिकित्सकले सास फेर्न सहज होस् भनेर पाइप राखेको र फोक्सोमा पुगेको वान्तासमेत निकालेको उनले बताए । सिटी स्क्यानबाट दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेका कारण ब्लक भएको पाइएको उनले बताए । सुगर, प्रेसरजस्ता समस्याबाट उनी यसअघि नै ग्रसित रहेको पाइएको छ । जोशीले रगत पातलो बनाउने औषधि खाइरहेको बताइएको छ । जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।