विश्व

नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

Photo source : AP

जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको हो ।

उक्त राज्यका गभर्नरका प्रवक्ताले समेत हमलाको पुष्टि गरेको बीबीसीले लेखेको छ । यद्दपी अवस्था भने अज्ञात छ । यो हालकै हप्ताहरूमा भएको सामूहिक अपहरणको सबैभन्दा ठूलो घटना मानिएको छ । यहाँ सशस्त्र समूहहरूले बालबच्चा अपरहण गरी तिनका अभिभावकबाट फिरौती माग्ने गरिन्छ । नाइजेरिया विश्वकै एक असुरक्षित मुलुक हो ।

गत हप्ता छिमेकको नाइजर राज्यस्थित कगारा भन्ने स्थानबाट २७ जना विद्यार्थी सहित अपहरणमा परेका ४२ जना अझै हराइरहेको बताइएको छ । गत डिसेम्बरमा ३ सय भन्दा छात्रलाई काट्सिना राज्यको कन्काराबाट बन्दूकधारीले अपहरण गरेका थिए । उनीहरुलाई भने छाडिएको थियो ।