बिचार

अरुका जुमा मरेपछि

पुरुषोत्तम लम्साल
[email protected]

हिजोबाट संसारले एउटा आदिवासी भाषा र सँस्कृति गुमाएको छ। अर्थात् ब्राजिलको अमेजन जंगल क्षेत्रमा बसोबास गर्ने प्राचीन आदिवासी समूहका जेष्ठ अगुवा अरुका जुमाको निधन भएको छ। उनीसँगै जुमा भाषाको कथ्य -अस्तित्व पनि सकिएको छ। र, अब संसारमा जुमा आदिवासी सँस्कृति र सभ्यताबारे आधिकारिक जानकारी ग्राउण्ड जीरोबाट वा आधार स्रोतबाट प्राप्त हुनसक्ने छैन। अरुका जुमासँगै अब जुमा समुदायका सँस्कृति पनि केही कथा र केही लेखोटमा सीमित भएका छन्।

जुमा समुदाय कसरी सकियो ? हाम्रा लागि यो महत्वपूर्ण पक्ष हो। उत्तरहरु पनि स्पष्ट छन्।

सुन्दा अचम्म लाग्दा वसन्तपुरको नगरा बजाउने समुदाय र नुवाकोट भैंसेमा भेटिने आधुनिक दमाइ दाइहरुको साइनो सिधै डोटी हुँदै भारतको उत्तराखण्डको अल्मोडा पुग्ने रहेछ।

आधुनिकताको नाममा राज्यले मच्चाएको आतंकले सकियो। विकासका नाममा आदिवासीमाथि राज्यले मच्चाएको नरसंहारले सकियो। विश्वबजार र उद्योगको कच्चापदार्थ आपूर्तिको नाममा मच्चाइएको आतंकले सकियो। पुँजीपति टाइकुनहरुले पालेर राख्ने तस्कर गिराहको निरन्तर आक्रमणले सकियो। आदिवासी बसोबास गर्ने क्षेत्रमा रबर निकाल्ने हामीकहाँ सल्लाको खोटो वा रोजिन निकाल्ने भनेजस्तै स्थानीय दलाल जो राज्यको संरक्षणमा थियो, तस्करीका कारण सकियो।
अमेजन क्षेत्रभित्र खानी र खनिज उत्खननका नाममा राज्यले हुलेको बजारले जुमा समुदाय सकियो।
अरुका जुमा सन् १९६४ मा राज्यले गरेको आदिवासी नरसंहारमा बाँच्ने छ जनामध्ये एक जना भाग्यमानी थिए।
सन १९४३ मा त्यहाँको सत्ताले चलाएको नरसंहारमा पनि बाँचेका अरुका जुमाको उमेर त्यो बेला दश वर्ष आसपास रहेको बताइन्छ।

यसरी विश्व मानचित्रमा हिजोसम्म उपलब्ध एउटा विविधता आजैका मितिदेखि सकियो। सय वर्षअघिसम्म बीसौं हजारको संख्यामा रहेका आदिवासी भाषा र सँस्कृति अब छैन।

अरुका जुमाको निधनसँगै मैले नुवाकोटको इतिहास खोतल्दै जाँदा भेटिएको दुखानटार (अहिले त ठाउँको नामै लोप भइसक्यो) को अस्तित्व सम्झिएँ। माटोको गुण चिनेर गूँढ खोज्दै काल्माटा र रातमाटामा पुगेर भाषा र सँस्कृति बिसाउँदै गरेका कुमालहरु सम्झिए।

माझीहरुको वस्तीबाट माझी लोप हुँदै गएर टार मात्र बाँचिरहेको माझीटार सम्झिएँ। माझीबेगर चमचम गरिरहेको माझीटारले जोगाउन नसकेको जातीय, भाषिक, साँस्कृतिक विविधताको अंश सम्झिएँ।

तादीका किनारै किनार देवीघाटको ढोरदेखि कविलासको खोरभन्दा माथिसम्म भेटिने एकाध दनुवार सम्झिएँ। अति सीमान्तकृतको भत्ता बाँडेर बाँकि दायित्व सम्हाल्न नसकेका केन्द्र र स्थानीय सरकारका अनुहारहरु नै दनुवार समुदायका लागि खतरा हुन् भनेर ठम्याएँ।

कान्तिपुरको किनारबाट नुवाकोटको भैरवी मन्दिर हुँदै पूर्वमा थानसिम र पश्चिममा भैंसे पुगेर लगभग सकिएको हुड्के उपजाती वा समुदाय ( को अंश होला तर भाषा छैन सँस्कृति पनि नहोला सायद) सम्झिए। आधुनिक समाजले उनीहरुलाई दमाइको दर्जा दिएर सीमित मात्र गरेन मन्दिर र गाउँमा जागर गाउँदै जागरण कथा गाउने अवशेष नै सक्कायो।

सुन्दा अचम्म लाग्दा वसन्तपुरको नगरा बजाउने समुदाय र नुवाकोट भैंसेमा भेटिने आधुनिक दमाइ दाइहरुको साइनो सिधै डोटी हुँदै भारतको उत्तराखण्डको अल्मोडा पुग्ने रहेछ। अझ बढी उनीहरु सरस्वतीका कथावाचक थिए।

थोकमा हिसाब गर्दा तीस वर्षअघिदेखि नै राउटे समाज संक्रमण गर्न दैलेख छिरेका इसाई संक्रमणकारीको पनि सम्झना भयो जसरी धादिंग र रसुवाका उत्तरी खर्क आसपास बसोबास गर्ने तामांगहरु अतिक्रमणको शिकार भए।

म जन्मिएको गाउँमा मगर छन् तर भाषाविहीन। नेवार छन् तर भाषाविहीन। तामांग छन् अब तिनमा पनि भाषिक संक्रमण ज्याद्रो छ, उपद्रो छ।

धादिंग र मकवानपुरमा बालबाल बाँचिरहेका चेपांग सम्झिएँ । झण्डै आठ हजार वर्षदेखि म्याग्दीको पहाड हुँदै तल्लो मुस्तांगमा आधार जमाएका रेशमी मार्गका यात्रीका अवशेष सम्झिएँ। हामी सम्पन्न थकाली र विपन्न थकालीको बर्गीकरणमै सीमित भयौं। यसको भाषिक, साँस्कृतिक तन्तुमा ध्यान नदिएर विविधताको पनि अन्त हुन्छ भनेर सोचेनौं। थकाली भनेको थाकखोलाका मान्छे वा भान्छामा स्वाद पकाउने समुदाय मात्र होइनन् तिनले तिब्बती हिमाली हुँदै पहाडी सँस्कृतिको मिश्रित अभिव्यक्ति दिन्छन् भनेर चासै दिएनौं।

घुम्दै जाँदा भाषिक, साँस्कृतिक अतिक्रमणले सीमान्तकृत हुँदै गएका रुकुम रैन्माका खाम पनि सम्झिएँ। खाम मगरभित्रको पनि भाषिका मात्र होइन भाषा, रीति र शिल्पमा सम्पन्न र विशिष्ट उपसमुह थिए भनेर बालकृष्ण पोखरेलले भनेको सम्झिएँ। जाति त रहला तर भाषिक अतिक्रमण जारी रहँदा भोली त्यहाँ पनि अरुका जुमा मात्र बाँकि हुनसक्छन्।

तिब्बतमाथि चिनको प्रभुत्व स्थापित भएपछि केरुंगको बाटो हुँदै हिंडेकामध्य केही बाटोमै छुटे। पछिल्लो साठी वर्षमा त्यहाँ हाँगाबिँगा फैलाएकाहरुको भाषिक साँस्कृतिक अन्तर अध्ययन गरेपछि मैले थाहा पाएको थिएँ भाषा र पहिचानको मूल्य एवम् भाषा र सँस्कृतिको सम्बन्ध। अनुमान लगाउन सकिन्छ अबको केही वर्षपछि नै स्याफ्रुमाथिको एउटा वस्तिमा पनि अरुका जुमा मात्र हुनेछन्।

ब्राजिलका आदिवासीसँग मेरो के साइनो छ भन्नुहोला ।
छ।
किनकि, अरुका जुमा ब्राजिलको राजामामा कुसुण्डा जस्तै थिए। जसरी नेपालमा लोपोन्मुख कुसुण्डा जातीका राजामामा तीन वर्षअघिसम्म कुसुण्डा भाषामा परर बोल्थे त्यसरी अरुका जुमा पनि जुमा भाषा बोल्थे एक हप्ताअघिसम्म।

राजामामाको शेषपछि कुसुण्डा भाषामा दोहोरो संवाद कठीन भएजस्तै ब्राजिलमा अरुका जुमाको निधन भएपछि जुमा भाषामा दोहोरो संवाद गर्ने मान्छे पाउन मुस्किल छ। र, त्यहाँ आफ्नै भाषामा साँस्कृतिक पक्ष, गुण अभिव्यक्त गर्ने समूह नेपालको कुसुण्डा जाती जति पनि रहेनन्। हामीकहाँ त कुसुण्डा भाषा जागरण कक्षासमेत चलेको छ, तर अरुका जुमाको शेषपछि त्यो सम्भावना पनि कम भएको बताइन्छ।

भाषा ठूलो कि जाती ? मेरा लागि अरुका जुमाले मृत्यूपछि यो प्रश्न छाडेर गएका छन् जसरी राजामामाको निधनमा पनि यो प्रश्न आएको थियो। भाषा मरेको जातीले आफ्नो साँस्कृतिक विशिष्ठता कसरी मूल्यमा वा गुणमा अभिव्यक्ति गर्नसक्छ? सक्दैन। आफ्नो भाषा नै नभएको जातीको त महत्व गौण हुन्छ। यो स्वभाविक पक्ष हो। तर, भाषा भए पनि बोल्न नसक्ने वा बोल्न सके पनि लेख्न नजान्ने भएपछि वा बोल्न जान्ने तर लिपीमा उतार्न नजान्ने भएपछि धेरै अल्पसंख्यक, सीमान्तकृत र अति-सीमान्तकृतमा अरुका जुमा र राजामामाहरु थपिंदै जान्छन्।