विज्ञान प्रविधि

मनकामना केवलकार ६ दिन बन्द हुने

चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ ।

बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ३१ चैतबाट भने केवलकार पुनः संचालनमा आउने भएको छ । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने भएको छ ।

२३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा लैजाने तयारी छ । गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने भएको छ ।