डायस्पोरा

राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकसाता लामो भ्रमणका लागि स्पेनतर्फ लागेका छन् । चैत २४ देखि ३० गतेसम्म चल्ने पिस कम्फरेन्स अफ लुम्बिनी गार्डन प्रोजेक्टको कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना स्पेनतर्फ लागेका हुन् । उनी सोमबार साँझ त्यसतर्फ लागेका छन् ।

अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी समेत छन् ।

टोलीमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवतह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी कार्डन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य हेको संसद सचिवालयले जानकारी दिएको छ ।

स्पेनमा उनले सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसदसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा लुम्बिनी तथा कोथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।