फिचर

ओमानले फेरी रोक्यो विदेशी नागरिकको प्रवेश, नेपाली समेत जान नपाउने

काठमाडौं । ओमन सरकारले विदेशी नागरिकको प्रवेशमा पुनः रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोरोना भाइरसको संक्रमणका बीच ओमान सरकारले यस्तो निर्णय लिएको हो । यसबाट ओमानमा वैदेशिक रोजगारीमा जाने नेपाली समेत प्रभावित हुने भएका छन् ।

ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिबाट विदेशी नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाउने निर्णय आएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि यो नियम लागू हुनेछ ।

ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकले भने निर्वाध प्रवेश पाउने छन् । बिहीबारदेखि लागूहुने गरी व्यापारिक गतिविधि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने निर्णय समेत भएको छ । यस समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा समेत प्रतिवन्ध लगाइएको छ ।

इस्लाम धर्मावलम्बीहरूको मनाउने रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । मस्जिदलगायत अन्य सार्वजनिक स्थलमा जम्मा हुन तथा भेला हुन प्रतिबन्ध लागेको छ ।