समाचार

रात्रिकालिन व्यवसाय ९ बजेपछि खोल्न नपाइने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टको खोल्न पाउने अवधि ९ बजे साँझ तोकेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

उनका अनुसार कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन भनेको छ । बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मन्त्रालयले आह्वान गरेको छ ।