विश्व

बेलायतमा सैनिक कु विरोधी म्यानमारका राजदूतलाई दूतावासमै अवरोध

PA MEDIA\BBC

लण्डन । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बेलायतमा दूतावासमै अवरोध गरिएको छ । उनी म्यानमारमा भएको सैन्य कूको विरोधमा थिए । सोहीकारण उनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । गत १ फेब्रुअरीमा म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।

उसले नागरिकमाथि निरन्तर दमन गरिरहेको छ । यो कदमको राजदूत मिनले विरोध गर्दै आएका थिए । उनले यो कदमलाई समेत सैनिक कूकै निरन्तरता भएको उल्लेख गरे । दूतावासका अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म प्रवेश रोकिएको उनको भनाई छ ।

बेलायती संचारमाध्यमले भने उनलाई सैनिक सहचारीले नियन्त्रणमै लिएको बताएका छन् । यो घटनापछि बुधबार राजदूत मिनको समर्थनमा दूतावासबाहिर प्रदर्शन पनि भएको छ । उता, बेलायती विदेश मन्त्रालयले समेत म्यानमारी दूतावासमा भएको घटनाको विवरण संकलनको काम गरेको जनाएको छ ।