स्वास्थ्य

आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या 'दुर्लभ असर'

REUTERS

लण्डन । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एक दुर्लभ असर मात्र रहेको युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले निष्कर्ष निकालेको छ ।

बीबीसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिको जोखिमको तुलनामा यसमा फाइदा बढी पाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको बताइएकोछ ।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन । रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलामा देखिएको हो ।

बेलायतको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने सुझाव दिएको थियो ।

बेलायतमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो । यसमध्ये १९ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएको बताएको थियो । यो खोप संसारभर २० करोड मानिसले लगाएको र त्यसमध्ये नगन्य मानिसमा मात्र समस्या देखिएको उल्लेख छ ।