समाचार

कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण तथा आर्थिक क्षति न्यूनिकरण गर्न नेपालले गत आर्थिक वर्ष २०७६\७७ मा ६१ अर्ब रुपैयाँ वैदेशिक सहयोग लिएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता लिएको छ ।

यो वर्ष सरकारले कुल कुल २ अर्ब २८ लाख अमेरिकी डलर (२ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ) वैदेशिक सहायता प्राप्त गरेकोमा त्यसको २५ प्रतिशत भन्दा बढी कोरोनासँग सम्बन्धित रहेको देखिएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को महामारीबाट जुध्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ५५ लाख अमेरिकी डलर बराबर खर्च भएको देखिएको छ ।

यसअवधिमा एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त कोष, अमेरिका, यूरोपेली यूनियन र विश्व बैंकबाट मात्र कुल ९४.४ प्रतिशत सहयोग आएको छ । कोभिड १९विरुद्ध खर्च गर्न आएको कुल रकममध्ये ९१ प्रतिशत रकम ऋण हो ।