समाचार

नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे

काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

शुक्रबार सम्पन्न भई शनिबार सार्वजनिक विवरण अनुसार अहिले चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी गैंडा फेला परेका छन् । यहाँ ६ सय ९४ वटा गैंडा भेटिए । बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा भेटिएका छन् ।

यस वर्ष ९ चैतबाट गैंडा गणना थालिएको हो । सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा भने विभिन्न कारणले मरेका छन् । गैंडाको मृत्युदर यो वर्ष बढी रहेको छ ।