विश्व

म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु

file Photo: AFP

काठमाडौं\एजेन्सी । म्यानमारमा सेनाको सैन्य कु विरुद्धको आन्दोलनमा त्यहाँको सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि हिंसा जारी राखेको सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा करीव १ सय मानिसको ज्यान गएको छ । त्यसमध्ये कम्तीमा एक दर्जन प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यस घटनामा कम्तिमा ८० जना प्रदर्शनकारी मारिएको आंकडा आएको छ । केही मानिस घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

बागो शहरको यो घटनामा मारिएका मानिसको लास एकै थुप्रो बनाएर राखिएका कारण एकिन तथ्यांक समेत नआएको एएफपीले लेखेको छ । उक्त क्षेत्रमा सर्वसाधारणलाई जान समेत दिइएको छैन ।

उता, आदिवासी विद्रोहीको एक सशस्त्र समुहले सान प्रान्तको एउटा प्रहरी चौकीमा आक्रमण गर्दा कम्तिमा १० प्रहरी मारिएका छन् । घटना शनिबार बिहान भएको हो ।

१ फेब्रुअरीमा भएको सैनिक कू यता म्यानमारमा ६ सय १८ जना नागरिकको ज्यान गइसकेको छ । त्यसमा १६ जना सुरक्षाकर्मी रहेको बताइएको छ । तर, सेनाले भने सर्वसाधारणको आंकडा कम भएको दावि गरिरहेको छ ।