समाचार

आज घोडे जात्र पर्व मनाईंदै

Photo : NTB

काठमाडौं । नेपालमा आज घोडे जात्रा पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्छ । यस दिनको उपलक्ष्यमा नेपाली सेनाले विशेष कार्यक्रम तथा प्रदर्शनी आयोजना गर्छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै एक तिहाइ पाहुनालाई मात्र बोलाएर कार्यक्रम गर्न लागिएको सेनाले जानकारी गराएको छ ।

राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी घोडेजात्रा अवलोकनमा पुग्ने छन् । किंवदन्तीअनुसार काठमाडौंको टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खान्थ्यो । पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर राक्षसलाई मारेका थिए ।

राक्षसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेपछि हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास छ ।

राससका अनुसार शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा समेत दिने प्रचलन रहेको छ ।