स्वास्थ्य

भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

Photo : DNA India

नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ ।

दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग सम्बन्धित काम रहेका छन् ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी बाहेक अन्य व्यक्तिले स्वीमिङ पूल प्रयोग गर्न नपाउने भएका छन् । बढ्दो गर्मिका बीच लागेको प्रतिवन्धले समस्या निम्त्याउन सक्ने बताइएको छ ।

विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिसलाई भाग लिन दिइने छैन । रेस्टूराँ र बारमा ५० प्रतिशत भन्दा बढी मानिस राख्न पाइने छैन । दिल्लीका सबै कलेज र कोचिङ संस्था बन्द गरिएको छ ।

सार्वजनिक सवारीले सीटमा ५० प्रतिशतमात्र यात्रु राख्नु पर्नेछ । कोरोनाबाट भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रुले आफू संक्रमित नरहेको प्रमाण देखाउनु पर्नेछ ।

रिर्पोट नभए अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । यसका वावजुत पनि आर्थिक गतिविधि रोक्ने गरी भने दिल्ली सरकारले प्रावधान ल्याएको छैन । यसले दैनिक मजदुरी गर्नेहरुलाई भने राहत दिने छ ।