विश्व

राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने

Photo : Press Association

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिपको अन्त्येष्टिमा प्रधानमन्त्री बोरिस जोन्सनले नजाने निर्णय लिएका छन् । आफु नजाँदा राजपरिवारका थप एक सदस्य अन्तिम संस्कारमा सहभागी हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएको बीबीसीले लेखेको छ ।

बेलायतमा कोरोना भाइरसको महामारीका कारण कडा प्रतिवन्ध छ । यहाँ सार्वजनिक स्थलमा ३० जना भन्दा बढी मानिस सहभागी हुन नपाउने नियम छ । सोहीकारण अन्त्येष्टी समारोहमा राजपरिवारका सदस्यलाई सहभागी हुन सजिलो होस भनी आफु नजाने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् । उनी राजसंस्थालाई हित हुने गरी निर्णय लिने नेता हुन् ।


प्रिन्स फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरको निधन भएको हो । अप्रिल १७ मा विन्डसर कासलको सेन्ट जर्ज चापेलमा उनको अन्त्येष्टिको तयारी गरिएको छ । प्रिन्स फिलिपका नाति–नातिना, पनाति–पनातिनाका साथै अन्य नजिकका व्यक्ति मात्र सहभागी हुनेछन् ।

उनको अन्तिम बिदाईमा आम मानिसहरु सहभागी हुन चाहन्छन् । तर, कोराना महामारीका कारण उनीहरुलाई टाढा नै रहन भनिएको छ । दरवारले आफ्नो भवना अनलाइनबाटै व्यक्त गर्न र च्यारिटीमा सहभागी हुन समेत नागरिकमा आह्वान गरेको छ ।