मनोरञ्जन

धरहराको वैशाख ११ गते उद्घाटन हुने

काठमाडौं । भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा उद्घाटन गर्दैछन् । धरहरा पुनर्निर्माणका क्रममा पहिलो चरणमा टावर मात्र खडिएको हो । सो भागको उद्घाटन हुने छ ।

नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको प्राधिकरणको भनाई छ । गजुर केही दिनभित्रै राखिएसँगै टावर तयार हुनेछ ।

२०७२ वैशाख १२ को भूकम्पले यो ऐतिहासिक सम्पदा ढलेको थियो । उक्त घटनामा थुप्रै मानिस मारिएका थिए । सोहीकारण शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भन्दै सरकारले वैशाख ११ मै उद्घाटन गर्न लागेको हो । धरहरामा पार्किङ र बगैँचातर्फको काम भने तत्काल सकिने छैन ।


गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा राखिदैछ ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बनेको छ । भित्र भने अत्याधुनिक सुविधासम्पन्न बनाइएको छ । बाहिरबाट ११ तला देखिने यो धरहरा अब २२ तलाको भनेको छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट राखिएको छ ।