समाचार

'सफा हिमाल अभियान' आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं

काठमाडौं । विभिन्न ६ वटा हिमालको सफाई गर्ने उद्देश्यसहित सफा हिमाल अभियान २०२१ आजदेखि सुरु हुँदैछ । यो अभियानको अगुवाई नेपाली सेनाले गर्नेछ । प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर अभियानको थालनी गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले यो वर्ष सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरी ६ वटा हिमालमा सफाइ अभियान चलाउन लागेको हो । यसले सेनाको क्षमता अभिवृद्धि हुने र हिमाल समेत सफा हुने अपेक्षा लिइएको छ । दुई वर्षअघि सेनाले सगरमाथाको सफाइ गरेको थियो ।

६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य यस पटक राखिएको छ ।

यो अभियानमा सेनालाई वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिले साथ दिने छन् ।

अभियान जेठ २२ मा सकिने छ । यस दिन विश्व वातावरण दिवस परेको छ । सेनाले संकलन गरेको फोहर मध्ये नसड्ने फोहोर हेलिकप्टर र गाडीमार्फत काठमाडौं ल्याई व्यवस्थपन गरिने भएको छ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही र शेर्पा सहयोगी खटिने नेपाली संचारमाध्यमले जनाएका छन् ।