फिचर

बुधबारबाट बन्द हुँदै नयाँ बसपार्क टिकट काउन्टर, कसरी काट्ने टिकट ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बसपार्क गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर १ वैशाख ( बुधबार)देखि बन्द हुँदैछन् । राष्ट्रिय समाचार समितिका अनुसार बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा रुपान्तरण गर्ने काम भइरहेको छ ।

सोहीकारण केही समय बसपार्कको सबै टिकट काउन्टर बन्द गर्न लागिएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले संचालन, व्यवस्थापन गरिरहेको छ । नयाँ बसपार्कमा अहिले ३५ टिकट काउण्टर छन् ।

प्रालिले टिकट काउन्टर नखुलेसम्म आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रह गरेको छ । यात्रुले समेत अब आफ्नो जिल्लामा जाने बस कम्पनीसँग समन्वय गरी टिकट लिनु पर्ने भएको छ ।

नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा जाने यात्रु बस चढ्ने गर्छन । यात्रुले सम्भव भए अनलाइनमाध्यमबाट समेत टिकट खरीद गर्न सक्ने कम्पनीको भनाई छ । यसले कोरोनाको जोखिम समेत कम गर्नेछ । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ ।