फिचर

८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

तर, रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले बढेको छ । ८ महिनामा नेपालमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशत कम छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशत बढी थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।