खेलकुद

आइपीएल : राजस्थान रोयल्सलाई पन्जावले हरायो

मुम्बई । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जावले विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै पञ्जाब किंग्स विजयी भएको हो । रोयल्सका कप्तान सन्जु साम्सनले शतक प्रहार गरे पनि टीम भने पराजित भएको छ ।

सामसनले ११९ रनको योगदान दिए । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले रोयल्सलाई २२२ रनको लक्ष्य दिएको थियो । राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो ।

सन्जु सामसनले ६३ बल खेल्दै ११९ रन बनाए । उनी कप्तानी गरेको पहिलो खेलमै शतक प्रहार गर्ने आइपीएल इतिहासकै पहिलो खेलाडी समेत बनेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २२१ रन जोडेको थियो ।

यो स्कोर जारी सिजनकै सर्वाधिक हो । कप्तान राहुलले ५० बलमा ९१ रन जोडे । दिपक हुडाले २८ बलमा ६४ रन बनाएपछि पंजावको ठूलो स्कोर बनेको हो । क्रिस गेलले २८ बलमा ४० रन जोडे ।