समाचार

पूर्वराजाको नयाँ वर्ष सन्देश : फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षणमा लाग्न सबैसँग आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको भन्दै एकतामा जोड दिएका छन् । उनले सबैको एउटै उद्देश्य देशको उन्नति हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनै पर्दछ।’

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनुपर्ने भन्दै उनले आपसी भाँडभैलो र द्वन्द्वको समेत अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् । हरेक नयाँ वर्षमा सुख, शान्ति, समुन्नति र सन्तुष्टिको अपेक्षा रहने भन्दै उनले समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जाने तर्फ सचेत हुन समेत आग्रह गरेका छन् । शाहले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।