स्वास्थ्य

गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो ।

आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले उल्लेख गरेको छ ।

जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारका सदस्य थिए । कुल १६ जना सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा ११ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

घुम्ती सडकमाबसलाई ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । सडकबाट १ सय ५० मिटर तल झरेको जिप दुर्घटनाका कारण नयाँ वर्ष कै दिन गुल्मी जिल्ला भने शोकमा डुबेको छ ।