फिचर

पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको मन्त्रालयको भनाई छ ।

वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने मुलुक हुन् । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।