रोचक खवर

राम, रामायण, राजनीति र वाल्मिकी

पुरुषोत्तम लम्साल, अमेरिका

वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्?

आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती बाँध्न पनि सक्छ बाल्न पनि सक्छ, पात्र थिए होलान् भनेर म पत्याउन्न। आफ्नो छाती आफैंले सर्लक्क चिरेर त्यहाँभित्र आफ्नो आस्थाको चित्र देखाउने हनुमानको अनुमान वा कल्पनाशिलता वाल्मिकीको काव्यमा भेटिन्छ। त्या काव्य रामायण हो।

मलाई वाल्मिकीले परिकल्पना गरेको चामत्कारिक पात्र हनुमानका वर्णन सुन्दा आनन्द लाग्छ। जसले हनुमानको पूजा आराधना गर्छन् त्यो उनीहरुको आस्था, स्वतन्त्रताको कुरा भयो। विश्वाशको कुरा भयो। मलाई चाँहि त्यति शक्तिशाली ‘क्यारेक्टर’ जन्माएर समाजमा हजारौं वर्षसम्म स्थायी र जड मनोविज्ञान निर्माण गरिदिने वाल्मिकी विशिष्ठ लाग्छन्। ‘सुपर्ब’ लाग्छन्। सभ्यताको एउटा बिन्दूमा त्यत्तिको विराट ‘क्यारेक्टर’को परिकल्पना गज्जब मान्नपर्छ।

म आस्थावादी होइन। जे भनेको वा सुनाइएको छ त्यसैमाथि निर्भर रहनु वा त्यसमाथि पूर्णत: विश्वाश गर्नु आस्थावाद हो। आस्थावादीले सन्देहलाई निषेध गर्छन्, प्रश्नलाई निषेध गर्छन्। यसैले आस्थावादीको नजरमा म पापी हूँ। किनकि उनीहरु जस्लाई ईश्वर मान्छन् म तिनलाई काव्यको पात्र वा चरित्र मान्छु र जसलाई उनीहरु धर्मग्रन्थ मान्छन् त्यसमाथि पनि म प्रश्न उठाउँछु वा पूर्णरुपेण सहमत हुन सक्दिन।

म यो किन लेख्दैछु भने मलाई रामकथा सुन्न आनन्द आउँछ। कसैले रामायणका गाथा गाइदिए एकचित्तले त्यो सुन्छु। कसैले पत्थरलाई आकार दिएर यो राम हो, यो हनुमान हो भन्यो भने उसँगै उभिएर श्रद्धाले टाउको झुकाउँछु। र, जब हरेक वर्ष रामनवमी आँछ यसैगरी फुर्सद उपयोग गर्छु।
….

महाभारतलाई चाँहि हामी राजनीतिको केन्द्रमा राखेर ब्याख्या बढी गर्छौं तर रामायणलाई चाँहि विशुद्ध धार्मिक ग्रन्थ मान्छौं। दुवै ग्रन्थले राज्यशास्त्रकै भाषा बराबर बोल्दछ भनेर केलाउनु गलत हुँदैन। भन्न खोजेको रामायणमा पनि उत्तिकै राजनीतिक चिन्तन छ जति महाभारतमा भेटिन्छ। दुबैले तात्कालीन समयको धर्मनिर्देशित समाज र राज्यको पेटबोली बोलेका न हुन्।

कथामा कृष्ण आउन् वा राम, कंश आउन् वा रावण फरकफरक पात्रमार्फत उस्तै राजनीतिक द्वन्द्वको उठान र वैठान भएको न हो। कतै कुन्ती र द्रौपदी उभ्याइन्छन् त कतै सीता, तारा र मन्दोदरीमार्फत राजनीतिको भाषा र संघर्ष बोलिन्छ। रामायणमा हामी धर्मको रंगमा बढी रुमल्लिन्छौं यसले गर्दा वाल्मिकीको राजनीतिक चिन्तन गौण बनिरहेको छ जस्तो लाग्छ मलाई।

महाभारतमा जस्तो राजनीतिक जटिलता, कौशल र सातपत्रे सम्बन्ध म रामायणमा देख्दिन। यो एकसुत्रीय विचारधारामा सलल बग्छ जहाँ केही पारिवारिक सम्बन्ध र राजनीति आउँछ, महिला पुरुषबीचका तात्कालीन समयका प्रभुत्व र संघर्षका कथा आउँछन्। सुर्पणखाको नाक काटिनु र सीता अपहरण हुनुबीच पनि बदलाको राजनीतिक साइनो त हो।

रामलाई अग्नी शर्मा उर्फ वाल्मिकीकृत रामायण ग्रन्थका मूल पुरुष चरित्र मान्ने कि देवता ? त्यो तपाइको स्वभाव र चरित्रले निर्धारण गर्ने कुरा हो। म चाँहि वाल्मिकीले राममार्फत तात्कालीन समाजको राजनीतिक, सामाजिक, अर्थव्यवस्था केलाउँदै आदर्श राज्यको परिकल्पना गरेको मान्दछु।

रामायणमा कैकेयीले कूटनीतिको साहारामा दशरथलाई परिबन्धमा पारेर वंशपरम्परामा आधारित राजतन्त्रमा ‘क्रमभंग’ खोजेकी थिइन। तर भरतले रामकै प्रतिनिधि भएर शासन चलाएपछि त्यो परम्परा क्रमभंग भएन। अर्थात राजाको जेठो छोरो राजा हुने चलनको कुरा हो यो।

राजनीति सुग्रिवले बालीसँग पनि गरेका हुन्। कथाको ‘प्लट’ तन्काएर वाल्मिकीले निकै परसम्म पुर्याए पनि सुग्रिवले रामसँग सहकार्य गरेर सत्तापलट परेका हुन्।
जसरी रावणले कुबेरको सत्तामाथि आफ्नो पकड जमाए त्यसले रावण चरित्र जन्मायो। यो चरित्र रुपमा रावणको देखिए पनि सारमा सत्ताको चरित्र हो। सत्ताको चरित्र दम्भ, अहंकार र घमण्डले निर्देशित भयो भने दरबारभित्रै विद्रोह जन्मन्छ भनेर विभिषणको कथा जोडिएको हो। र, विभिषणले रामको सहयोगमा रावणको सत्ता दखल गरेका हुन्।

विश्वामित्रको दृष्टान्त दिएर वाल्मिकी ब्यक्तिको असल र खराब कर्मको आधारमा वर्ण पनि परिवर्तन हुन्छ भन्छन् अयोध्याकाण्डमा। यो त्योबेलाको चतुर्वणी समाजको चित्र होला।

समाज चाँहि श्राप एवम् आशिर्वादको प्रभावका कारण ब्यक्तिप्रति धारण बनाउँछ र सोही अनुसार ब्यवहार गर्छ भन्छन् वाल्मिकी। यो भनेको स्वर्गको मोह, पुनर्जन्मको मोहको कथ्यमा बुनिएको हो।

भूमिपति, जमिन्दार वा सामन्तको सेवा गर्ने मजदूरलाई वाल्मिकीले कहीं पनि मालिकको निजी सम्पत्तिको रुपमा चित्रण गरेका छैनन्। बरु पश्चिमा दार्शनिक अरस्तुले दासलाई मालिको सम्पत्ति मान्दै उनीहरुको क्रय विक्रयको ब्याख्या गर्दथे। यो गम्भीर पाटो रामायणबाट छुटाउन हुँदैन।

रामायणमा बर्ग चिन्तन छैन?
रामायणलाई ईश्वरवादी वा अनिश्वरवादीको दृष्टिभन्दा माथि गएर केलाउनु पनि उत्तम हुन्छ। यो मानेमा वाल्मिकीले युद्धकाण्डमा बर्गको चिन्तन र चेतना मिहीन रुपमा केलाएका छन्। उनी भन्छन् पर्वतबाट नदी उत्पन्न भए जस्तै अर्थबाट सबै बिmया उत्पन्न हुन्छ। अर्थको अभावमा समस्त क्रिया अवरुद्ध हुन्छ जसरी गृष्ममा साना छोटा नदीहरुसुख्खा हुन्छन्।

हामी माक्र्सले के भने भनेर खोज्छौं तर वाल्मिकीले के भन्न खोजेका हुन् भनेर केलाउँदैनौ। समाजमा धनले वा सम्पत्तिले वा अर्थले कसरी बर्ग जन्माउँछ वा निर्धारण गर्दछ भनेर वाल्मिकीले सरल शब्दमा मिहीन व्याख्या गरेका छन्। युद्धकाण्डमै उनी लेख्छन् “जोसँग धन छ उसँग सबै भाइ, बन्धु र मित्र बन्छन्। त्यही व्यक्तिको गणना श्रेष्ठ पुरुषमा हुन्छ।” ‘अर्थदेतानी सर्वाणी’ भन्दै वाल्मिकीले धनी ब्यक्तिलाई सबैले बुद्धिमान, पराक्रमी, भाग्यमानी र गुणवान सम्झने सामाजक चरित्र उठाए । सम्पन्न र विपन्न बर्गबीचको तात्कालीन समयको यो चिन्तन र यसले उठान गरेको मुद्दा गज्जब मान्नपर्छ।
रामकथामा रामराज्य भनेको देवताको राज्य हुँदै होइन। रामराज्यको मुलभुत चरित्रलाई राज्यको नीतिनिर्देशक सिद्धान्तको रुपमा बुझ्दा हुन्छ। किनकि वाल्मिकीले रामायणमा राजा, राजाको चयन मन्त्री, धर्मपालक अथवा न्यायाधीशसम्मको विवेचना दिएका हुन्।

उदाहरणका लागि वाल्मिकी के भन्छन् भने राज्यको कोष बुद्धि गर्न मन्त्रीहरुले सामान्य जनतालाई अत्याचार हुने गरी निर्णय गर्न हुँदैन। यो भनेको संघीय नेपालका स्थानीय निकायले शव जलाउने दाउरामा समेत कर लगाएको जस्तो होइन। कौटिल्यकालीन मगधमा धनानन्दको कर प्रणालीको सिको गर्ने हाम्रा स्थानीय तहले वाल्मिकीको उक्त नीतिलाई असल शासनको बुँदा माने लोककल्याणकारी काम भइहाल्छ। किनकि लोककल्याणकारी शासन नै रामराज्यको केन्द्रीय तत्व त हो।

रामायणमार्फत वाल्मिकी के भन्छन् भने शत्रु पनि यदि निरपराध छ भने उसको अहित गर्न हुँदैन। यो न्यायको कुरा हो। दण्डविधानको कुरा हो। धर्म कुनै बर्ग, विशेश जाती वा साम्प्रदायिक तत्वबाट प्रभावित नभै सदाचार, आत्मकल्याण, लोककल्याण आदि भावनाको स्तम्भमा आधारित हुनपर्छ भनेका न हुन् वाल्मिकीले। यही नै आदर्श राज्य हो भनेका न हुन् उनले।

धर्मभित्रबाट पनि वाल्मिकीले केही लोकतान्त्रिक पाटो उधिनेका छन्। जस्तै राजाको चयनमा पनि सामन्तहरुसँग छलफल चलाएर सहमति लिनपर्छ भनेर। मन्त्री ब्यक्तिगत गुणको आधारमा चयन हुनपर्छ पनि भन्छन् उनी। रातको पछिल्लो प्रहरमा राजाले कोषको विषयमा मन्त्रीहरुसँग नियमित संवाद गर्नपर्छ पनि भन्छन् उनी। राम त माध्यम मात्र न हुन् वाल्मिकीले राज्य सञ्चालनको प्रक्रिया उल्लेख गरेका हुन्।

दश वर्षअघि रामनवमीको सन्दर्भमा बेलायतमा आयोजित एक कार्यक्रमा तात्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले “राजनीति गर्ने र सत्ता चलाउनेहरुलाई रामायण मार्गनिर्देशक ग्रन्थ” भन्दै केहीबेर रामराज्यको प्रवचन दिएका थिए। मैले पनि ग्रन्थकै रुपमा यो विचार बनाएको हुँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी के भन्छन् वा नेपालका प्रम केपी शर्मा ओली के भन्छन्, राम कहाँ जन्मिए,माडीमा प्राणप्रतिष्ठा गरिएको रामको मुर्तिको नाक किन असुहाउँदो छ भन्ने म जान्दिन।

जो नाम मात्र नप्छन् तिनलाई पनि प्रणाम,
जो राम मात्र जप्छन् तिनलाई पनि प्रणाम।