फिचर

ट्रम्पका वलिकको घरमा एफबीआईले हान्यो छापा

GETTY IMAGES\ BBC

न्यूयोर्क । डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको घर र कार्यालयमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई) छापा हानेको छ । उनको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको बीबीसीले जनाएको छ । युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको बताइएको छ ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन गरिरहेका थिए। ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपतिलाई पहिलो पटक महाभियोग लगाइएको हो ।

बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा छापा मारिएको छ । त्यहाँबाट विद्युतीय उपकरणहरू सहितका सामग्री जफत गरेको समाचारमा जनाइएको छ । युक्रेन सरकारको तर्फबाट जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेका थिए कि भन्ने बारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

गत वर्षको राष्ट्रपतिय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्‍याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।