विश्व

अमेरिका र फ्रान्सले भारत पठाए ठूलो संख्यामा मेडिकल सामग्री

नयाँ दिल्ली । अमेरिका र फ्रान्सले भारतका लागि ठूलो संख्यामा मेडिकल सामग्री भारत पठाएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना संकटसँग जुधिरहेको भारतलाई सहयोग गर्न अमेरिकाले तीन कार्गो प्लेन भारत पठाएको छ । जसमा अक्सिजन उपकरणसँग सम्बन्धित सामग्री र एन९५ मास्क रहेको बताइएको छ ।

यूएस एजेन्सी फर इन्टनेशनल डेवलपमेन्टले प्रेस विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको हो । जहाजमा अक्सिजन सिलिण्डरसमेत पठाइएको छ । अमेरिकाले यस अगाडी समेत दुई कार्गो प्लेनमा मेडिकल सामग्री भारतलाई सहयोग गरिसकेको छ ।

उता, फ्रान्सले समेत भारतका लागि कोरोनासँग सम्बन्धित सामग्री सहयोग गरेको छ । फ्रान्सले आइतबार बिहानै २८ टन मेडिकल सामग्री बोकेको जहाज भारत पठाएको छ । जहाज दिल्ली अवतरण गरेको संचारमाध्यमले जनाएका छन् ।

यस जहाजले अक्सिजन जेनेरेटर ल्याएको छ । जसको सहायतामा अस्पतालले अक्सिजन उत्पादन र आपूर्ति गर्न सक्ने छन् । भारतीय विदेश मन्त्रालयले यसको पुष्टी गरेको हो ।