फिचर

अन्तर्राष्ट्रिय टी-२० विश्व वरियतामा नेपालको फड्को

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको विश्व वरीयतामा फड्को मारेको छ । हालै नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर रेकर्ड बनाएको नेपाल एशोसिएट मुलुकमध्ये सबैभन्दा माथिल्लो स्थानमा रहने सफल भएको छ ।

आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको हो । यसअघि स्कटल्याण्ड १३ औं स्थानमा थियो ।

स्कटल्याण्ड अब १४ औं स्थानमा पुगेके छ । अब नेपालभन्दा माथि टेष्ट मान्यता प्राप्त राष्ट्र मात्र रहेका छन् । आयरल्याण्ड १२ औं स्थानमा रहेको छ । ११ औं स्थानमा जिम्बावे रहेको छ । नयाँ वरीयता अनुसार बमोजिम नेपालको रेटिंग्स १८७ पुगेको छ । आयरल्याण्डको रेटिंग्स १८८ छ । जिम्बावेको रेटिंग्स १९१ रहेको छ ।
आईसीसीको नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्षस्थानमा छ ।

उता,नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थान सुधार भएको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा १६ औं स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय एकदिबसीयमा नेदरल्याण्ड्स ११ औं स्थानमा छ ।

नेपालभन्दामाथि आयरल्याण्ड, जिम्बाबवे, ओमान, स्कटल्याण्ड छन् । नेपालले एकदिबसीय क्रिकेटमा यूएईलाई उछिन्न सफल भएको छ । आईसीसीको नयाँ वरीयतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा छ ।