विज्ञान प्रविधि

अमेरिकाले बालबालिकालाई समेत कोरोना खोप दिने

वासिंटन डिसी । अमेरिकामा बालबालिकामा समेत कोरोना खोप दिइने भएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर खोप १२ वर्ष उमेर पुगेका बालबालिकालाई उपलब्ध गराउन सकिने सम्भावनाबारे विचार गरिरहेको बीबीसीले लेखेको छ । अमेरिकामा फाइजरको खोप १६ वर्ष माथिका व्यक्तिलाई दिन मिल्छ। राष्ट्रपति जो बाइडनले आफूले एफडीएको प्रक्रियामा हस्तक्षेप नगर्ने तर कुनै निर्णय आए तत्कालै खोप कार्यक्रम अघि बढाउन तयार अवस्थामा रहेको बताएका छन् ।

उनले जुलाई चारको स्वतन्त्रता दिवस अघि कम्तीमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले कोभिड १९ विरुद्धको पहिलो खोप लिइसकेको आफूले हेर्न चाहेको समेत बताएका छन्। अमेरिकाको वयस्क जनसङ्ख्याको ५६ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा लिएको तथ्यांक छ । त्यसमध्ये एक तिहाइ पूर्ण रूपमा सुरक्षित भएको समाचारमा उल्लेख छ ।

पछिल्लो दिनमा खोप लगाउनेको सङ्ख्या घटेको भए पनि लक्ष्य पुरा हुने दिशामै रहेको बाइडेनको भनाई छ । बाइडन प्रशासनले नियामक निकायहरूले अनुमति दिएको अवस्थामा १२ देखि १५ वर्षबिचका बालबालिकालाई खोप उपलब्ध गराउने हजारौँ केन्द्र तयार अवस्थामा रहेको जनाएको छ। अहिले अमेरिकामा १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् । हाल दैनिक झन्डै १० लाख मानिसलाई खोप दिइन्छ ।

बाइडनले आफ्नो प्रशासनले खोप लगाउने विषयलाई लिएर आशङ्का व्यक्त गरिरहेका व्यक्तिहरूलाई आकर्षित गर्न प्रयास गरिरहेको उल्लेख गरेको छ । सोमबार ह्वाइट हाउसमा बोल्दै बाइडनले दुई महिनापछि स्वतन्त्रता दिवस मनाउँदा अमेरिका भाइरसबाट पनि स्वतन्त्र हुने गरी अघि बढ्न सकिने धारणा राखेका छन् । उनले खोप सम्बन्धी नयाँ वेबसाइट पनि सञ्चालनमा ल्याएका छन् । अमेरिकीहरूले सहजै आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन सक्छन्।