विश्व

भारतमा दैनिक मृत्युको आंकडा ४ हजार नजिक, फेरी बन्यो रेकर्ड

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट बुधबारएक दिनमा अहिलेसम्मकै बढी मानवीय क्षति भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार दैनिक संक्रमण ४ लाख नाघेको यो दिन मृत्युको आंकडा समेत ४ हजारको आंकडा नजिक पुगेको छ । यो दिन भारतमा ३ हजार ९ सय ८० जना मानिसको ज्यान गएको तथ्यांक आएको छ ।

केही दिन कम भएको संक्रमण पुनः बढ्दा भारतमा चिन्ता बढेको छ । बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिए । अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख नाघेको थियो । त्यसपछिका केही दिन भने संक्रमण घटेको तथ्यांक आएको थियो । अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो ।

मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण हुँदा संक्रमण घटेको बताइएको छ । भारतका उत्तर प्रदेश, कर्नाटका, हरियाणा, पञ्जाब, तमिलनाडु र महाराष्ट्र राज्य बढी प्रभावित बनेका छन् । भारतको बढ्दो संक्रमणले नेपालमा समेत हरेक दिन जोखिम बढाउँछ । किनकी भारतमा काम गर्ने नेपालीहरु प्रतिवन्ध र निषेधाज्ञा कारण काम बन्द हुँदा धमाधम घर फर्किरहेका छन् ।