फिचर

उद्योगमा रहेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निजी क्षेत्रका छाता संगठनको आग्रह

Photo : EPA\BBC

काठमाडौं । उद्योगहरुमा मौज्दात रहेका अक्सिजन ग्यास सिलिण्डि ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रका छाता संगठनले उद्योगहरुसँग आग्रह गरेका छन् । उद्योगमा प्रयोग हुने अक्सिजनका लागि सिलिण्डर राखेको भए महामारीको समयमा मानिसको ज्यान बचाउन प्रयोगमा ल्याउन निजी क्षेत्रका संघसंस्थाले आह्वान गरेका हुन् ।

अहिले कोरोना महामारीका कारण अक्सिजन सिलिण्डर अभाव हुन थालेको छ । अस्पतालहरुले बिरामी लिन छाडेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सिलिण्डर फिर्ता गर्न आग्रह गरेका हुन् । तिनै संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य बाहेकका अन्य प्रयोजनमा अक्सिजन ग्यास सिलिण्डर प्रयोग नगर्न समेत सबै उद्योगीहरुलाई आग्रह गरेका छन् ।

मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवम् आर्थिक समस्यासँग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।


सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन यी तीन वटा संस्थाले अपील गरेका छन् । महामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मुल्य वृद्धि नगर्न समेत संगठनले ध्यानाकर्षण गराएका छन् । निजी क्षेत्रका अस्पतालले लिएको महंगो शूल्कबारे समेत संगठनले बोलेका छन् ।