बिचार

जीवनभरको साथ रोज्नुअघि

योगेश आदी

सम्वन्ध जोडेर तोड्नु भन्दा जोड्नुअघि नै सोच-विचार गरेको वेस् । तर सोच्ने के ? वात्सल्यतामा समेत स्वार्थ हुने तथ्य अनुसन्धानले पुष्टि गरेको अवस्थामा निस्वार्थ सम्वन्धको जिकिर कसैले गर्छ भने थप सशंकित बन्नुहोस् । यसर्थ हरेक सम्वन्धमा निहित स्वार्थ हुन्छ नै । स्वार्थको मात्रा र प्रकृति भने फरक हुनसक्छ । यद्यपि कहिलेकाँही सम्वन्धमा अरुको स्वार्थले आफुलाई समेत फाइदा पुगेको हुन्छ । सम्वन्धको चर्चा गर्दा सबैभन्दा महत्वपूर्ण र विचार पुर्याउनु सम्वन्ध भनेको प्रेमिकासँगको वा जीवनसाथीसँगको सम्वन्ध हो; किनकि यो सम्वन्ध बदल्न सजिलो छैन ।
त्यसो त सम्वन्ध टिकाउने सामान्य सुत्र हुँदैन। व्यक्तिपिच्छेको स्वरुप र स्वाभाव अद्धितीय हुन्छन् भने सम्वन्ध कसरी सत् प्रतिशत समानान्तर चल्न सक्छ ? चल्छ र चलेको छ भने एउटा तहको समझदारी र सम्झौतामा मात्र सम्भव हुन्छ । यसर्थ सम्वन्धमा सम्पूर्णता खोज्नु व्यर्थ छ । तर सम्वन्ध विना पनि जीवन निरस छ । जोन अपडाइकले भने जस्तै; “प्रेमिल सम्वन्धमा जीवन थप जीवन्त वन्दछ ।” मलाई लाग्छ, सम्वन्ध जीवनपथको पाइपलाइन हो । पाइपलाइनको अवस्था अनुसार जीवन चल्दछ । परन्तु सही सम्वन्ध शुरुवातको कसरी गर्ने ? कस्तो पाइपलाइन रोज्ने ?

न्युयोर्कको एक छोटो भेटमा प्रा. प्रमोद ढंगेलले मननीय उद्धरण व्यक्त गरे । वास्तवमा यो लेखको प्रेरणा नै प्रा. ढुंगेल हुन् ।
कतिपय कुरा महसुस गरेर सरल तरिकाले भन्न सकिदैन । जुन गाँठो उहाँले खोल्दिनु भो । उहाँका अनुसार – जोडी रोज्नुअघि खुसी रोज्ने कि सम्झौता रोज्ने ? सो निर्क्योल गर्नु पर्दछ । आफुलाई अगाध चाहने व्यक्ति रोज्नुभयो भने ठान्नुहोस् – तँपाईले खुसी रोज्नुभो ! तँपाई केवल खुसी बन्ने हो, तँपाईलाई खुसी राख्न ऊसले नै प्रयास गरिरहेको हुन्छ । ऊसले नै तँपाईको सबै समस्यामा सरोकार राखिरहेको हुन्छ । उसका इच्छा चाहनासँग उसैले सम्झौता गर्दछ । त्यस्तै तँपाईले आफ्नो अप्टिमम् च्वाइस अर्थात मनैदेखि मन पराएको व्यक्तिलाई पाउने प्रयास गर्नुभयो भने सम्झौताको लागि पनि तयार रहनुस् ।

राजा रणबहादुर शाह यसका गतिलो उदाहरण हुन् । उनले कान्तिमती नाम गरेकी एक एकल महिलालाई यति मन पराएकि कान्तिमती बेगर राजगद्दी नै नचल्ने समेत भन्न थाले । कान्तिमतीले राजा रणबहादुरको कमजोरी थाहा पाएपछि विवाह प्रस्ताव स्वीकार गर्नुअघि आफु कान्छी श्रीमती भएतापनि आफुबाट जन्मने सन्तान नै राजा हुनुपर्ने शर्त राखे । राजा कान्तिमतीको सन्दर्य र अदामा यति निर्लिप्त थिए कि शर्त मञ्जुर गरे । सोही मुताविक नावालक छोरा गिर्वाणलाई राजगद्दीमा राखे । रानी कान्तिमती कै अनुसार नेपालको इतिहासमा प्रथम पटक राजाको नामको पछाडि विर विक्रम लेखाउन थालिन् । दुर्भाग्यवश कान्तिमतीको अल्पायू मै निधन
भयो । राजा रणबहादुरले भाकल गरेको जति सबै देवस्थल भत्काउन लगाए । अन्तत; उनी डिप्रेसनमा गए । यहाँ कान्तिमतीले खुसी रोजिन्, इच्छा अनुसारको खुसीले बाँचिन् । राजाले सम्झौता रोजे, सम्पूर्ण सम्झौता मै जीवन सके ।

मैले यो लेख लेख्दै गर्दा न्युयोर्क निवासी प्रा. ढुंगेलसँगको भेटबाट आर्जित जीवन दृष्टिकोण औसत भन्दा फरक पाएँ । सम्वन्धमा सानालाई पनि सम्मानपूर्वक सम्वोधन गर्ने । मानवीय सम्वन्धमा सहयोगको महत्व, सद्भावको औचित्य इत्यादि सिक्ने मौका पाएँ । हामी ग्रह नक्षत्र भित्रको कौतुहलता खोतल्छौं तर आँखा चिम्म गर्दा परेलामा आउने अनुहारसँगको सम्वन्धलाई खोतल्न सक्दैनौं । सामाजिक जीवन भन्नु नै विभिन्न तहका सम्वन्धको समिश्रण हो । सम्वन्ध भित्र खुसी रोज्ने कि सम्झौता त्यो फेरीपनि आफ्नै हातमा ।