समाचार

संवैधानिक परिषद्को बैठकमा नजाने कांग्रेसको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । यो बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ । बैठकमा सभामुख अग्नी खरेलसमेत नजाने भएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी गराएका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित रहेको उल्लेख गर्दै परिषद् बैठक बहिष्कार गर्न लागेको उनले जानकारी गराएका हुन् । नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने उनले बताएका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ । तर सरकारले भने अध्यादेशमार्फत सदस्य संख्या कम भएपनि बैठक बस्न सक्ने गरि व्यवस्था गरेको छ । संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्दा सहमतिमा गर्नुपर्ने कानूनी व्यवस्था छ ।