समाचार

मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई जिताउन अपिल गरेका हुन् । उनले सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि नेकपा एमालेको विशेष महत्व राख्ने भन्दै बादललाई जिताउन सबैलाई अपिल गरेका हुन् ।

‘एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने भएकाले बादललाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ उनले भनेका छन्, ‘गत फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामथ्र्य, उकता र एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । सँगसँगै २०७५ जेठ ३ गते एकीकरण भएको तर, कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्नेछ ।’

प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको बताएका छन् ।

‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ उनले भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन ।’