मनोरञ्जन

सगरमाथामा जोखिम छैन : विभाग

काठमाडौं । पर्यटन विभागले सगरमाथामा पछिल्लो मौसमले जोखिम उत्पन्न नगरेको स्पष्ट पारेको छ । आरोहणमा पुगेका आरोही र उनीहरुको सहयोगी समेत सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित छन् । उनीहरुमा अहिलेसम्म कुनै जोखिम रहेको जानकारी समेत आएको छैन ।

अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेका छन् । हरेक शिविरका करिब एक, एक सय जना रहेको बताइएको छ । हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले उल्लेख गरेको छ ।

आज एक विज्ञप्ती निकाल्दै विभागले यस्तो जानकारी गराएको हो । बंगालको खाडीमा उत्पन्न भएको आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ । यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिइसकेको छ ।