मनोरञ्जन

हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु

काठमाडौं । यो सिजनको हिमाल आरोहण अभियान पुरा भएको छ । अघिल्लो सातासम्म अन्तिम पटक सगरमाथा चुचुरोमा पुगेका आरोही समेत अब क्रमशः काठमाडौं फर्कने क्रममा रहेको पर्यटन विभागले जनाएको छ । यो पटक कति आरोहीले हिमालको चुचुरोमा सफल आरोहण गरे भन्ने तथ्यांक गणनाको काम भइरहेको विभागको भनाई छ । यो सिजन अहिलेसम्मकै बढी संख्यामा आरोहण अनुमति जारी भएका थिए ।

सगरमाथामा मात्र ४ सय ८ जनाले अनुमति लिएका थिए । यो इतिहासमै एक सिजनमा जारी भएको सर्वाधिक अनुमति हो । विभागका अनुसार यो सिजनमा कुल ४ जनाले ज्यान गुमाउनु परेको छ । यसरी ज्यान गुमाउनेमा २ जना आरोही र २ जना शेर्पा सहयोगी छन् । त्यसमध्ये एक जनाको दुर्घटनामा ज्यान गएको हो । ३ जनाको भने उचाई सम्बन्धी समस्याका कारण ज्यान गएको हो ।

यो सिजन सरकारले आरोहणबाट मात्र ४० करोड भन्दा बढी रोयल्टी संकलन गर्न सफल भएको छ । कोरोना महामारीका बीच भएको आरोहणले नेपालको पर्यटनमा भने सकारात्मक सन्देश प्रवाह गरेको छ । तर, अन्तर्राष्ट्रिय मिडियाले फैलाएको अफवाहबाट भने पर्वतारोहण यो सिजन सन्देहमा थियो । सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै मिडियाले निरन्तर प्रचार गरेका थिए ।

तर, सरकारले भने ५६ सय मिटरको उचाईमा कोरोना लागेका व्यक्ति रहन नसक्ने र अझ चुचुरोतर्फ त जानै नसक्ने भन्दै यसरी आएका खबरको निरन्तर खण्डन गरेको थियो । कतिपय व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि काठमाडौं फर्किएर परीक्षण गर्दा कोरोना पुष्टी भएका घटनालाई आधार शिविरमा फैलिएको भन्न नमिल्ने तर्क सरकारको थियो ।