फिचर

विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै

कुवेत सिटी । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणमा आज अन्तिम खेलहरु हुँदैछन् । नेपालले आज समूहको सबैभन्दा बलियो टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुनेछ । कुवेत सिटीमा आयोजना हुने खेलमा नेपालको लक्ष्य आक्रमण खेल खेल्ने हुनेछ । पछिल्ला खेलमा नेपालले गोल बचाउनुका साथै आक्रामक फुटबल समेत खेलिरहेको छ ।

नेपालले यसअघि चाइनिज ताइपेईलाई २ गोल अन्तरले हराएको छ । जोर्डनले भने नेपाललाई ३ गोल अन्तरले हराएको छ । नेपाल विश्वकपको छनोट बाट भने बाहिरिएको छ । तर, आफु भन्दा १ सय स्थानभन्दा माथिको बलियो टीमविरुद्ध नेपाल प्रतिष्ठाका लागि लड्ने छ ।

नेपालले अष्ट्रेलियालाई हराएमा एसिया कप छनोटमा जाने सम्भावा समेत जिवित रहने छ । समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारसहित ६ अंक बटुलेको छ । नेपालले यसअघि विश्वकप छनोटमा २०१९ मा अष्ट्रेलियासँग क्यानबेरामा ५ गोलको पराजय भोगेको थियो । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने तयारीमा छन् ।