फिचर

यूरोकप : मैदानमा बेहोस भएका क्रिस्टियन एरिक्सनको होस खुल्यो, टीम पराजित

काठमाडौं\एजेन्सी । युरो २०२० अन्तर्गत शनिबार राति एक अप्रिय घटना हुनबाट बचेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । उनीमाथि कुनै फाउल भने भएको थिएन । खेलको ४१ औं मिनेट चलिरहँदा घरेलु मैदानमा बेहोस भएका एरिक्सनको मैदानमा गरिएको १५ मिनेटसम्मको प्रयासमा होस खुल्न सकेन । त्यसपछि उनलाई अस्पताल लगियो । यो घटना शनिबार रातीको हो ।

उनी बेहोस भएर अस्पताल लैजानु परेपछि खेल रोकियो । दुबै टोली ड्रेसिंग रुम फर्किए र उनको स्वास्थ्य लाभको कामना गरे । जब अस्पतालबाट एक खुसीको खबर आयो, खबर अनुसार उनको होस आयो । त्यसपछि खेल पुनः सूचारु गर्ने निर्णय भयो । अस्पतालबाट उनले आफ्ना टीममेटसँग भिडियोमा कुरा गरे । त्यसपछि खेलाडीहरु पुनः मैदानमा फर्कन राजि भए ।

डेनमार्क फुटबल एसोसिएसनका अनुसार एरिक्सनको स्वास्थ्य स्थिर छ। उनी खतरामुक्त अवस्थामा छन् । साढे एक घन्टापछि सुचारु भएको खेलको पहिलो हाफमा बाँकी चार मिनेट खेलाइएको थियो। त्यसपछि ब्रेकको रुपमा पाँच मिनेट समय दिइयो । त्यसपछि दोस्रो हाफ सुरु गरियो ।


डेनमार्कमाथि फिनल्यान्डले १-० गोलको जित निकाल्यो । हतास मनोस्थितिमा पुगेको टीम साविकको जस्तो मनोवलमा खेल्न सकेन । जसले गर्दा फिनल्यान्डका लागि पोहान्पालोले ५९ मिनेटमा गरेको गोल निर्णायक बन्यो । डेनमार्कले ७४ मिनेटमा पेनाल्टी पाएपनि त्यो गोलमा परिणत हुन सकेन ।

डेनमार्कका इमिल होएबिएरले पेनाल्टीलाई गोल गर्न सकेनन् । एरिक्सनको संसारभरबाट फुटबलप्रेमीले स्वास्थ्यलाभको कामना गरेका छन् । किनकी यो दृष्य संसारमा करोडौं मानिसले टेलिभिजन सेटबाट प्रत्यक्ष हेरिरहेका थिए ।