विज्ञान प्रविधि

देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

File

पोखरा । मनसुन सक्रिय भएसँगै अहिले देशभर वर्षा भइरहेको छ । कुनै स्थानमा मध्यम र कुनै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । अविरल वर्षापछि राजमार्गहरुमा पहिरो जाने र अवरुद्ध हुने क्रम समेत बढेको छ । सोहीक्रममा स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाई छ ।


राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सिद्धार्थ राजमार्गमा सिद्धबाबा पहिरो क्षेत्रबाटै जोखिम अत्यधिक रहेको छ ।