समाचार

काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली (सोमबार र मंगलबार) चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । यसअघि २५ जेठबाट शुरु भएको खोप अभियानमा खोप नै सकिएपछि तोकिएको समय भन्दा अगाडी नै रोकिएको थियो । थप खोपको जोहो भएपछि आज र भोलि महानगरपालिका भित्र खोप लगाउने तयारी गरिएको हो ।

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप लगाइने भएको हो ।

काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने छ ।

पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीले खोप लगाउन सक्ने छन् ।