समाचार

ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं । आज मुलुकका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना छ । यसले नदीहरुमा बाढी आउने र नदी किनारमा असर गर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । नेपालमा आइतबारबाट नै विभिन्न स्थानमा अविरल वर्षा जारी छ । लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको छ । गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको हो । कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान महाशाखाको छ ।

यी नदीमा बिहीवारसम्म नै यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । यो साता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेको हो । मंगलबार देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।