समाचार

आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट दुई महिना मेलम्चीको पानी आउने छैन । परीक्षणका रुपमा मात्र काठमाडौं ल्याइएको मेलम्चीको बाँकि काम गर्न अब पानी वितरण बन्द हुने भएको हो । काठमाडौंका धारामा अब दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने छ । प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएपछि पानी वितरण बन्द भएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दै अब २ देखि १२ दिनको बीचमा मात्र धारामा पानी आउने बताएको छ । यो बीचको समयमा उपभोक्ता आफैले पानीको जोहो गर्ने भएको हो । तर, वर्षायाम भएका कारण काठमाडौंका इनारमा अहिले पर्याप्त हुन्छ । अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध हुँदैन । यसको असर उपभोक्तामा पर्नेछ ।

मेलम्ची नआएको समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतबाट उपलब्ध हुने खानेपानी वितरण गर्नेछ । तालीका अनुसार काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने छ । बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलको सूचनामा उल्लेख छ ।